आफ्नो सपना पुरा गर्न सानैमा जिम्बेवारी धेरै : युवा क्रिकेटर यादव (अन्तर्वार्ता)

क्रिकेट नै जीवन हो। मेरो क्षमता यही हो भन्ने लागेपछि ११ वर्षको उमेरमा भागेर इन्डिया पुगे बब्लुकुमार यादव । गाउँमा झुम्रा र टेनिस बललाई क्रिकेट बनाएर खेले । टिभीमा भ्याएसम्म  सबै म्याच हेर्थे। कसैले नबोलाए पनि भ्याए र देखेको ठाउँमा क्रिकेट खेल्न पुग्थे। जब उनलाई घरबाट पढ्नुपर्छ भनेर दबाब आउन थाल्यो अनि गए आफ्नो सपना पुरा गर्न भारततिर । केही वर्ष त्यही बसेर स्कूलबाट र विभिन्न क्लबमा खेले । १४ वर्षको भएपछि देशका लागि खेल्ने र क्रिकेटलाई उचाईँमा पुर्‍याउने उद्देश्यले नेपाल फर्किए ।   सिराहा जिल्लाको माडर गाविसमा जन्मिएका बब्लु कुमार यादव हाल काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। भारतको दिल्लीबाट विभिन्न क्लबबाट यु-१६ तथा यु-१९ टिममा खेलिसकेका उनले नेपालमा आएर मध्यमाञ्चल क्षेत्रबाट क्षेत्रीय प्रतियोगितामा सहभागी भइसकेका छन् भने यु-१९ राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा सहभागी भएर टिममा छानिएनन्। देशका लागि क्रिकेट खेल्ने सपना बोकेर दिन रात प्रशिक्षण तथा अभ्यासमा व्यस्त यादबसँग नेपाल र नेपालीले गरेको कुराकानीको सम्पादीत अंश :

 आजभोली के गर्दै हुनुहुन्छ?   विहानै कलेज जान्छु । ११ बजे घर फर्केर खाना नखाई जिम जान्छु। त्यसपछि एकछिन रेस्ट अनि दिउँसो नेपाल क्रिकेट स्कूलमा ट्रेनिङका लागि जान्छु। बेलुका भ्याएमा बाहिर खुल्ला ठाउँमा पुगेर साथी भाईहरुसँग अभ्यास गर्छु। क्रिकेट नै मेरो क्षमता ठानेको भएर दिनरात यसैमा केन्द्रित छु।  

 क्रिकेट किन यस्तो क्रेज बनेको तपाईँलाई ? मलाई सानैदेखि क्रिकेट खेल्न मन पर्थ्यो। टिभीमा आउने क्रिकेट म्याचहरु छुटाउँदिनथे। घरबाट भागेर क्रिकेट खेल्न हिँड्थे। ११ वर्षको भएपछि त घरमा पढ्नुपर्छ भनेर किक्रेट खेल्न नदिएपछि भागेर इन्डिया पुगेँ । त्यसपछि झन त्यही बसेर खेल्न थालेँ। खेलाडीहरुकै संगत हुन थाल्यो यसप्रति क्रेज बढ्दै गयो ।

भारतमा कसरी खेल्ने मौका पाउनुभयो? म क्रिकेट खेलेको देखेपछि त्यही पुग्थेँ। पाए खेल्थेँ नपाए हेरेर बस्थेँ। त्यसैमा खेलाडीहरुको संगत हुन थाल्यो। त्यही आफन्त सँग बसेर पढेको थिए। भारतीय खेलाडी सुर्यकुमार यादव मेरो आफन्त पर्नुहुन्छ। उहाँले पनि सहयोग गर्नुभयो। स्कूलमा पनि क्रिकेट हुन्थ्यो। त्यहाँबाट पनि खेल्न पाइन्थ्यो।  राम्रो प्रदर्शन गरेपछि भारतको सोनेट क्लबबाट यु-१६ तथा यु-१९ को टिमबाट खेल्ने मौका पाएको हो।    

११ वर्षको उमेरमा भागेर भारत गएको तपाईँ त्यतै क्लबहरुबाट खेल्ने अवसर पाउनुभएको रहेछ। किन नेपाल आउनुभएको ? म नेपालमा जन्मेको हुँ। बुबा आमा यही हुनुहुन्छ। ११ वर्षको उमेरमा क्रिकेटको क्रेजले गर्दा भारत पुगेको थिएँ। त्यसपछि देशका लागि खेल्नुपर्छ भन्ने लाग्यो र नेपाल फर्किए। भारतमा मेरो प्रशिक्षकहरुले पनि तिमी नेपाल जाउँ र राष्ट्रिय टिमका लागि प्रयास गर भन्नुहुन्थ्यो। अहिले पनि दिल्लीको डिडिसिए लिग तथा मुम्बईको मिग क्रिकेट क्लबबाट समय समयमा खेल्दै छु। क्लबका लागि त्यहाँ अथवा अन्य देशमा गएर अभ्यास गर्ने त्यसपछि देशका लागि खेल्ने मेरो सोच छ।

अनि नेपालको राष्ट्रिय टिमबाट अवसर पाइएला त? म दिन रात मिहिनेत गरिरहेको छु। विभिन्न अभ्यास खेलहरुमा अग्रज खेलाडी दाजुहरुसँग खेल्दा उहाँहरुले हौसला दिनुहुन्छ। राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दास र कलाम अलि सरको ट्रेनिङ सेन्टर नेपाल क्रिकेट स्कूलमा नियमित अभ्यास गरिरहेको छु। मैले साना प्रतियोगिताहरुमा खेलेको देखेर सिनियर अग्रज दाजुहरु (शरद भेषवाकर, विनोद भण्डारी, सोमपाल कामी लगायत) ट्रेनिङ  लिन सुझाव दिनुभएको थियो। आशा छ अर्को पटक यु-१९ मा अवसर पाउँछु र केही समयपछि राष्ट्रिय सिनियर टिममा।  


हालसम्म देशभित्रका कुन-कुन प्रतियोगितामा सहभागी हुनुभयो? म क्षेत्रीय क्रिकेट प्रतियोगितामा क्षेत्र नं ३ काठमाडौंबाट २०१४ र २०१५ मा सहभागी भएको थिए। त्यस्तै कलेज प्रिमियर लिगहरुमा पनि सहभागी भएको थिएँ। यी खेलहरुको प्रदर्शनलाई हेरेर मलाई यु-१९ राष्ट्रिय टिमका लागि क्याम्पमा सहभागी गराइएको थियो।  

  यु-१९ टोलीको क्याम्पमा छनोट हुँदा कस्तो लाग्यो? म देशका लागि क्रिकेट खेल्ने सपना बोकेको मान्छे। देशले यु-१९ टिममा खेल्‍नका लागि क्याम्प अभ्यासमा लग्दा खुसी लाग्यो। सुरुमा खेलमा भन्दा पढाइमा जोड दिने बुबा आमाले पनि खेलका लागि सपोर्ट गर्नुभएको थियो। तर पछि छनोट भइएन।

  टिममा किन पर्न सकिएन ? अब खेल्न राम्रै खेलेकै थिएँ। प्रशिक्षकले पनि राम्रै खेलेका छौं भन्नुहुन्थ्यो। तर छनोट भइएन। छनौटका बेला प्रशिक्षकको मात्र हात हुँदैन । खेलमा राजनीति पनि व्याप्त छ। छनोट गर्ने ठाउँमा मेरो मान्छे कोही थिएन। अर्कोतर्फ हेर्दा मभन्दा सिनियरहरु हुनुहुन्थ्यो। मेरो प्रदर्शनमा केही सुधार गर्नुपर्ने भएर होला भन्ने लाग्यो।  

  टिममा नपरेपछि त अभ्यास गर्दा ति खेलाडीहरुसँग गर्न पाइएन। कसरी अभ्यास गर्दै हुनुहुन्छ त? हो राष्ट्रिय टिममा छनौट नभएपछि अभ्यासका लागि हामीलाई कुनै सुविधा पनि छैन र न ग्राउन्ड नै छ । तर पनि नेपाल क्रिकेट स्कूलमा केही तिरेरै भएपनि अभ्यास गरिरहेको छु। कहिलेकाही कोठाभित्रै ह्याङ्गिङ बलसँग अभ्यास गर्छु। राती पनि निद्रा नलाग्दा त्यसै गर्छु। त्यस्तै कहिलेकाही लोकल साथीहरुसँग खुल्ला ठाउँमा गएर खेल्छु।  

  तपाईँलाई मन पर्ने नेपाली खेलाडीको हो? हाम्रो राष्ट्रिय टिममा शरद भेषवाकर दाई मेरो मनपर्ने खेलाडी हुनुहुन्छ। उहाँले धैर्यताका साथ प्रदर्शन गरेको देख्दा खुसी लाग्छ। सदावहार खेलाडीमा सचिन तेन्दुकर र अहिलेको खेलाडीमा केएल राउल मेरो मनपर्ने खेलाडी हुन।

  खर्च कसरी चलाउनुभएको छ ? म भर्खर १६ वर्ष भएँ। म सामान्य भएर परिवारले भनेअनुसार हिँड्ने हो भने पूरै सपोर्ट हुनेथियो होला । तर म क्रिकेट खेल्दै हिँडेको छु। त्यसले गर्दा आफ्नो खर्च आफैँ जुटाउनुपर्ने हुन्छ। यहाँ त कुनै आम्दानीको स्रोत छैन। म्याचहरु खेल्दा केही सहयोग हुन्छ नत्र खाली। भारतको सोनेट क्लबबाट मासिक ६ हजार भारतीय रुपैया आउँछ। सबैकुरा व्यवस्थापन गर्न गाह्रो छ। केही सहयोग परिवारबाट पनि पाएको छु।  

  तपाईँको सपना के छ? मेरो पहिलो लक्ष्य भनेको राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने हो। राष्ट्रिय टिमको ओपनीङ ब्याट्सम्यानका रुपमा खेल्ने सोच छ। त्यसपछि हामी सबै मिलेर देशको तर्फबाट आइसिसीको ओडिआई वर्ल्ड कप खेल्ने हो। साथै देशलाई टेस्ट मान्यता प्राप्त बनाउने पनि मेरो सपना छ ।

Comments

Popular posts from this blog

रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी

Suman Sanga (17 Nov) - Kanchan Sharma Regmi

Nepali Movie Quiz