सोलिडारिटी कपमा विजयी गोल गर्ने सुजलको (sujal shrestha) परिवारलाई बधाईको ओइरो



यतिबेला राजु श्रेष्ठ र उनकी पत्नी रिमालाई देश विदेशबाट बधाईको ओइरो लागेको छ । सदरमुकामस्थित हुलाकटोल घर भएका ५० वर्षिय राजु र ४९ वर्षिया रिमाको खुसी यति बेला थामिनसक्नु छ । <!--more-->



एएफसी सेलिडारिटी कपको फाइनल खेलमा मकाउ विरुद्ध निर्णायक गोल गर्ने सुजल श्रेष्ठका बाबु–आमा र पत्नी दम्पत्ति यतिबेला एकाएक सेलिब्रेटी नै बनेका छन् । सदरमुकाम लगायत जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबिच पनि खुसीयाली छाएको छ ।





होटल व्यवसाय गर्दै आएका श्रेष्ठ दम्पत्तिको निवासमा मंगलबार रातिदेखि नै बधाई दिने शुभेच्छुकको भीड लागेको थियो । उनीहरुको टेलिफोन पनि बधाइ दिनेका कारण व्यस्त छ । ‘हाम्रो खुसीले सीमा नाघेको छ,’ मुस्कुराउँदै सुजलका बाबु राजुले भने, ‘समग्रमा नेपालको टीमको जीत भएकोमा खुसी लागेको छ । अझ छोराको खेल देखेर त हामी उत्साहि भएका छौं ।’





उनीहरुलाई अमेरीका, इजरायल, मलेसिया लगायतका मुलुकमा रहेका नेपालीहरुले समेत बधाई दिइरहेका छन् । देशका प्राय सबैजसो ठाउँबाट आफन्त, शुभेच्छुक र खेलप्रेमीले बधाई दिइरहेको बाबु राजुले बताए ।

यसैगरी सुजलकी आमा रिमाले त खुसीमा आँसु नै झारिन् । बाल्यकालमा लुकिछिपी फुटबल खेल्न जाने गरेको स्मरण गर्दै उनले भनिन्, ‘बच्चामा हामीलाई छलेर प्लाष्टिकको भकुण्डो खुबै खेल्थ्यो, आखिर रामै्र कामको लागि रहेछ ।’ खेलबाट राष्ट्रको सान राखोस् भन्दै सधैं भगवान पुकार्ने गरेको उनले बताइन् ।

सुजलका भाइ सागरले पनि दाजुको सफलताको कारण आफूलाई प्रेरणा मिल्ने बताए । त्यसो त भाइ सागर समेत फूटबलका राम्रै खेलाडीमा दह्रिएका छन् । उनले दाजुबाट थप उत्साहा मिलेको प्रतिक्रिया दिए । सुजलको परिवारमा सबैभन्दा खुसी हुनेमा उनकी ६८ वर्षिया फूपु चुनु श्रेष्ठ छिन् । उनले त सुजलले खेल्ने सबै खेलको जानकारी लिने गरेको बताइन् । बाबुआमाले फूटबल नखेल भन्दा पनि आफूले उसको इच्छा विरुद्ध कुनै व्यवहार नगर्नु भन्ने दवाव नै दिने गरेको बताइन् ।

श्रेष्ठ दम्पत्तिले घरमा प्रत्यक्ष खेल हेर्न नपाएपनि मोबाइलमा हेरेका थिए । मोबाइलमा मलेसियामा भइरहेको फाइनल खेल हेर्दै गरेका उनीहरु छोराले १९ औं मिनेटमा गोल गरेपछि त ठुलो स्वरमा कराएको बताए । ‘त्यसपछि मात्र दौडिएर छिमेकीको घर गएर टेलिभिजन हेर्‍यौं,’ बाबु राजुले भने ।

राजुका साथी दिपेन्द्र श्रेष्ठको घरमा टेलिभिजन हेर्दै गर्दा उनीहरुलाई बधाइ दिनेक्रम चलिसकेको थियो । सुजललाई बाल्यकालका साथी दिपेन्द्रका अनुसार सुजलको देब्रे खुट्टाको प्रहार पहिल्यैदेखि सशक्त थियो ।

बाल्यकालमा उनको खेलप्रतिको रुचिलाई नबुझ्दा धेरै पटक गालि समेत गरेको परिवारका सदस्य बताउँछन् । तर बाबुआमाको आँखा छलेर साथीभाईसँग फूटबल खेल्न जाने सुजलको बानीले हैरान लागेको बाबु राजुले बताए । २०६१ सालमा ८ कक्षा अध्ययनरत अवस्थामा एन्फाको छनोटबाट राजधानी जाने अवसर पाउँदा बल्ल छोराको प्रगतिबारे उनका परिवारलाई जानकारी मिल्यो । तर खेलकूदमा लागेर जीवन बर्बाद हुने भन्ने कतिपय आफन्तको दवावमा छोरालाई राजधानी पठाउनेबारे दोधारमा परेका थिए बाबुआमा ।

केन्द्रमा सुजलको फूटबलप्रतिको उत्साहाबारे जब सञ्चारमाध्यमले जानकारी दियो, तबदेखि एक दिन देशको नाम राख्नेमा विश्वास बढेको बाबु राजुले दंग पर्दै बताए । कुनै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय ठुला प्रतियोगिता हुनु अघि सुजलले परिवारका सदस्यलाई फोन गरेर आशिर्वाद लिने गरेका छन् ।

मंगलबार  मलेसियाबाट पनि उनले खेल अघि र पछि बाबुआमालाई टेलिफोन गरेका थिए । यसैबिच धनकुटावासीको तर्फबाट सुजललाई नागरिक अभिनन्दन गरिने बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लभ श्रेष्ठले बताए ।


#Sujal Shrestha, Nepal football player
#AFC Solidarity Cup 2016 Champion
<a href="http://kantipur.ekantipur.com/news/2016-11-16/20161116190627.html">कान्तिपुर अनलाइनबाट</a>बाट साभार

Comments

Popular posts from this blog

रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी

Suman Sanga (17 Nov) - Kanchan Sharma Regmi

Nepali Movie Quiz